फिफा विश्वकप २०२६ को उपाधि जित्ने बलियो दाबेदारीका साथ ‘इट्स कमिङ होम’ को ऐतिहासिक नाराका साथ युरोपेली महारथी इंग्ल्यान्डले आज टेक्सासको मैदानमा आफ्नो विश्वकप यात्राको सुरुवात गर्दैछ, जहाँ उसको सामना परिचित प्रतिद्वन्द्वी क्रोएसियासँग हुँदैछ।
सन् १९६६ मा पहिलो पटक विश्वविजेता बनेको इङ्गल्यान्डका लागि ६० वर्ष लामो उपाधि खडेरी तोड्ने यो सबैभन्दा सुनौलो मौका हो । मुख्य प्रशिक्षक थोमस टुचेलको टोली छनोटलाई लिएर समर्थकहरूबीच केही मतभेद रहे पनि छनोट चरणमा शतप्रतिशत जितको कीर्तिमान राखेको यो टोलीलाई उपाधिको मुख्य हकदार मानिएको छ ।
प्रशिक्षक टुचेलले “हामीसँग सपना देख्ने अधिकार छ, तर हामी भ्रममा पर्न चाहँदैनौँ” भन्दै टोलीलाई सचेत गराएका छन् । अर्कोतर्फ, कुनै समय ‘अन्डरडग’ मानिएको क्रोएसिया हाल विश्व फुटबलकै सबैभन्दा निरन्तर प्रदर्शन गर्ने टोली बनेको छ, जसले सन् २०१८ मा उपविजेता तथा सन् १९९८ र २०२२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेर आफ्नो बलियो उपस्थिति प्रमाणित गरिसकेको छ ।
४० वर्षको उमेरमा आफ्नो पाँचौँ तथा अन्तिम विश्वकप खेलिरहेका कप्तान लुका मोड्रिचको जादुमयी नेतृत्वमा क्रोएसिया पुनः एकपटक इङ्गल्यान्डको सपना भत्काउने दाउमा छ ।
हेड-टु-हेड र पछिल्लो लय
इंग्ल्यान्ड र क्रोएसियाबीचको यो समग्रमा १२औं भिडन्त हो । यसअघिका ११ भेटहरूमा इङ्गल्यान्डले ६ खेल जितेको छ भने क्रोएसियाले ३ खेलमा जित निकालेको छ र २ खेल बराबरीमा सकिएका छन् ।
विश्वकपको इतिहासमा यी दुई टोली यसअघि तीन पटक आमनेसामने भइसकेका छन्, जसमा सन् २०१८ को रसिया विश्वकपको सेमिफाइनल भिडन्त सबैभन्दा चर्चित छ; जहाँ क्रोएसियाले इंग्ल्यान्डलाई २-१ ले हराएर फाइनल पुग्दै इंग्ल्यान्डको विश्वकप जित्ने सपना चक्नाचुर पारिदिएको थियो ।
पछिल्लो ५ खेलको लयको कुरा गर्दा इंग्ल्यान्ड ३ जित, १ हार र १ बराबरीको नतिजा निकालेको छ । इंग्ल्यान्ड हालैका मैत्रीपूर्ण खेलहरूमा कोस्टारिका र न्युजिल्यान्डलाई हराउँदै उच्च मनोबलका साथ टेक्सास आइपुगेको हो ।
मार्चमा जापानसँग अप्रत्याशित हार बेहोरे पनि त्यसअघि टोलीले उरुग्वेसँग बराबरी खेलेको थियो भने अल्बानियालाई विश्वकप छनोटमा पराजित गरेको थियो ।
यता क्रोएसियाले पछिल्ला पाँच खेलमा ३ जित र २ हारको नतिजा निकालेको छ । क्रोएसियाको फर्म केही उतारचढावपूर्ण छ । हालैको वार्म-अप खेलमा स्लोभाकियालाई हराए पनि क्रोएसिया बेल्जियम र ब्राजिलसँग लगातार पराजित भएको थियो । त्यसअघि भने टोलीले कोलम्विया र मोन्टेनेग्रो विरुद्ध जित निकालेको थियो ।
प्लेयर्स टु वाच
इंग्ल्यान्ड
ह्यारी केन (स्ट्राइकर) : इंग्ल्यान्डका कप्तान तथा सर्वकालीन शीर्ष गोलकर्ता ३२ वर्षीय ह्यारी केन आफ्नो करियरकै उत्कृष्ट लयमा छन् । जर्मन क्लब बायर्न म्युनिखबाट गत सिजन ५१ खेलमा ६१ गोलको कीर्तिमान बनाउँदै लगातार दोस्रो बुन्डेसलिगा उपाधि जितेका केनका बारेमा क्रोएसियाका प्रशिक्षक जाल्त्को डालिचले विश्वकै उत्कृष्ट स्ट्राइकर भएको टिप्पणी गरेका छन् । छनोट चरणमा टोलीलाई डोर्याएका केनको ‘क्लिनिकल फिनिसिङ’ क्रोएसियाली डिफेन्स तोड्ने मुख्य साँचो हुनेछ ।
जुड बेलिङहम (मिडफिल्डर) : स्पेनिस जायन्ट रियल मड्रिडका मुख्य सुपरस्टार २२ वर्षीय जुड बेलिङहम इंग्ल्यान्डको मिडफिल्डका मुख्य इन्जिन हुन् । मैदानको मध्यभागमा बल नियन्त्रण गर्ने, शारीरिक रूपमा बलियो खेल खेल्ने र मिडफिल्डबाट अचानक विपक्षी बक्समा छिरेर गोल निकाल्ने उनको ‘बक्स-टु-बक्स’ शैली विश्वस्तरीय छ । क्रोएसियाको प्रख्यात मिडफिल्ड विरुद्ध खेलमा नियन्त्रण कायम राख्न उनको प्रदर्शन निर्णायक हुनेछ ।
ट्रेभोह चालोबाह (डिफेन्डर) : न्युक्यासल युनाइटेडका राइट-ब्याक टिनो लिभ्रामेन्टो आइतबार कान्सास सिटीको प्रशिक्षण सत्रमा पिँडुलाको चोटका कारण विश्वकपबाटै बाहिरिएपछि उनको स्थानमा ट्रेभोह चालोबाहलाई आकस्मिक रूपमा टोलीमा बोलाइएको छ । क्रोएसियाका तीव्र गतिका विङ्गरहरूलाई रोक्न र इंग्ल्यान्डको रक्षापङ्क्तिलाई बलियो बनाउन चालोबाहको भूमिका यस खेलमा अचानक निकै महत्त्वपूर्ण बनेको छ ।
क्रोएसिया
लुका मोड्रिच (मिडफिल्डर) : क्रोएसियाका कप्तान लुका मोड्रिच ४० वर्षको उमेरमा पनि राष्ट्रिय टोलीको ‘ढुकढुकी’ हुन् । प्रशिक्षक डालिचले उनलाई मैदानभित्र आफ्नो ‘दायाँ हात’ को रूपमा वर्णन गरेका छन् । रियल मड्रिडका यी स्टारको यो अन्तिम विश्वकप अभियान हो । मैदानको मध्यभागबाट खेलको लय र गति आफ्नो इसारामा सञ्चालन गर्ने उनको जादुमयी क्षमता र सेट-पिसहरूमा सटिक क्रस निकाल्ने कला इङ्गल्यान्डका लागि सबैभन्दा ठूलो चुनौती बन्नेछ ।
जोस्को ग्वार्डिओल (डिफेन्डर): इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका मुख्य डिफेन्डर जोस्को ग्वार्डिओल क्रोएसियाको रक्षापङ्क्तिका कडा चट्टान हुन् । विश्वकै उत्कृष्ट र आधुनिक डिफेन्डरमध्ये एक मानिने २४ वर्षीय ग्वार्डिओल प्रिमियर लिगमा खेल्ने भएकाले उनलाई ह्यारी केनको खेल शैलीबारे पूर्ण ज्ञान छ । केन जस्ता गोल मेसिनलाई बक्सभित्र नियन्त्रणमा राख्ने मुख्य जिम्मेवारी ग्वार्डिओलकै हुनेछ ।
आन्द्रे क्रामारिच (फरवार्ड) : जर्मन क्लब होफेनहाइमबाट व्यावसायिक फुटबल खेलिरहेका अनुभवी स्ट्राइकर आन्द्रे क्रामारिच क्रोएसियाको आक्रामक पङ्क्तिका मुख्य हतियार हुन् । देशका लागि ९० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका क्रामारिच बक्सभित्र मौकाको फाइदा उठाउन र चलाखीपूर्ण बडी-पोजिसनिङका लागि चिनिन्छन् । इङ्गल्यान्डको डिफेन्स लाइनलाई काउन्टर अट्याकमा दबाबमा राख्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।

