हेमराज अधिकारी असार महिनालाई मानो लगाएर मुरी उब्जाउने महिनाका रूपमा लिइन्छ। अचेल सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिने रोपाइँका दृश्य र तस्बिरहरूले बाल्यकालका अनगिन्ती सम्झनाहरू ताजा गराइदिन्छन्। पहाडी जनजीवन ढुंगा माटो, उकालो ओरालो र संघर्षले भरिएको हुन्थ्यो। तर त्यो संघर्षमै पनि एउटा छुट्टै आनन्द थियो। ती दिनहरू सम्झँदा अहिले पनि बेलाबेला मन नोस्टाल्जिक हुन्छ।
मेरो जन्मथलो अछाम फल्टाने विद्यालय पढ्दा काठमाडौंजस्तो हिउँदमा नभई हाम्रो गाउँमा बर्खामा लामो बिदा हुन्थ्यो। असार र साउन गरेर पूरै दुई महिना। त्यो बिदा खेतीपातीका लागि छुट्याइएको हुन्थ्यो। बालबालिका, युवा वा वृद्धवृद्धा, अशक्तबाहेक काम गर्न सक्ने कोही पनि घरमा बस्न पाउँदैनथे। “वर्षभरि खाने अन्न उब्जाउने बेलामा पनि घरमा बस्ने?” भन्दै सबैलाई खेततिर लगिहालिन्थ्यो।
बुढापाकाले भन्ने गर्थे, “असार लागेपछि टाउको कन्याउने समय पनि हुँदैन।” त्यो भनाइ वास्तवमै हाम्रो जीवनमा लागू हुन्थ्यो। बिहान उज्यालो नहुँदै हँसिया र कोदालो बोकेर खेततिर निस्कने, साँझ घाँसको भारी बोकेर घर फर्किने दैनिकी थियो। बिहानको पहिलो उज्यालोदेखि साँझ आँखाले भ्याउने अन्तिम घामसम्म काम गर्नुपर्थ्यो। यी दुई महिनामा आफ्नै शरीरको स्याहार गर्ने फुर्सदसमेत हुँदैनथ्यो। राम्रोसँग नुहाउने, आराम गर्ने वा साथीहरूसँग खेल्ने समय भन्ने कुरा कल्पनाजस्तै थियो।
आफ्नो रोपाइँ सकियो भनेर बस्ने चलन पनि थिएन। छिमेकी, आफन्त र गाउँलेहरूको खेतमा पनि सघाउन जानुपर्थ्यो। हाम्रो मामा घर पनि नजिकै भएकाले त्यहाँको काममा पनि बराबर सहभागी हुन्थेँ। मामा घरमा कहिले रोपाइँ छ, कहिले खेत स्याहार्ने हो, पानीको अवस्था कस्तो छ, बाउसे र रोप्नेरीको व्यवस्था भयो कि भएन भनेर आमाले बेलाबेला सम्झाइरहनुहुन्थ्यो। त्यसपछि मामा घरमा पनि बाउसे गर्न र अरू सबै काममा सघाउन जानुपर्थ्यो। सानैदेखि मामा घर नजिक भएकाले होला, जन्मेदेखि हुर्किंदासम्म आमा र मामाले जीवनका धेरै व्यवहारिक कुरा सिकाउनुभयो। खेतीपाती, दुःख–सुख, श्रमको सम्मान र मिलेर काम गर्ने संस्कार त्यहीँबाट सिकेँ।
सहरमा जन्मिएका र नयाँ पुस्तालाई ‘परिमो’ (पणिमा) भन्ने शब्द नौलो लाग्न सक्छ। गाउँघरमा आफ्नो खेतमा सघाउन आउने र तिनकै खेतमा आफू पनि गएर काम गर्ने चलनलाई परिमो भनिन्थ्यो। धेरै ठाउँको खेतीपाती यही प्रथाबाट चल्थ्यो। कहिले आफ्नोमा, कहिले छिमेकीकोमा, कहिले गाउँलेकोमा। यसरी सबैको धान समयमै रोपिन्थ्यो र ज्याला पनि दिनु पर्दैनथ्यो। साटासाट श्रम गर्ने सुन्दर संस्कार थियो त्यो। काममा आउनेहरूलाई राम्रो खाना र खाजाको व्यवस्था भने गर्नैपर्थ्यो। खेतमै काम गर्दै गाउँका मानिसहरू दुःख–सुखका कुरा गर्थे, रमाइला ठट्टा गर्थे र जिम्मेवारी पूरा गर्थे।
खेती गर्दा हरेक व्यक्तिको छुट्टै भूमिका हुन्थ्यो। खेत जोत्न हली, कोदालो चलाउने बाउसे र धान वा कोदो रोप्ने रोप्नेरी। प्रायः हली र बाउसेको जिम्मेवारी पुरुषले लिने भने रोप्नेरीको काम महिलाहरूले सम्हाल्थे। गाउँभरि बाउसे र रोप्नेरी खोज्दै हिँड्ने चलन हुन्थ्यो।
“लौन, भोलि मेरोमा आइदेऊ न” भन्दा जवाफ आउँथ्यो, “हप्ता दिनसम्म त अरूकोमा भनिसकेको छु।” परिमो बाहिरका मानिसलाई भने कहिलेकाहीँ ज्याला दिएर पनि काममा लगाउनुपर्ने अवस्था आउँथ्यो। गोरु भेटियो भने हली नपुग्ने, हली भेटियो भने बाउसे नपुग्ने, बाउसे भेटियो भने रोप्नेरी नपुग्ने। खेतीपाती गर्नेका समस्या कति थिए, गनेर साध्यै थिएन।
धेरै पानी परे पल्ता ओढेर काम गर्नुपर्थ्यो। सिमसिम पानी पर्दा त रुझेरै खेतमा पसिन्थ्यो। ठूलाबडाले “तिमीहरूको उमेर त ढुंगा खाए पनि पचाउने उमेर हो, यति पानीले केही हुँदैन” भनेर उत्साह थपिदिनुहुन्थ्यो। दिनभरि काम गर्दा पनि त्यति थकाइ लागेको महसुस हुँदैनथ्यो।
सिँचाइ सुविधा भएकाहरूलाई केही सहज थियो। उनीहरूले आफूलाई अनुकूल हुने बेला रोपाइँ गर्थे। तर आकाशे पानीकै भरमा खेती गर्नेहरूका लागि निकै कठिन थियो। गाउँमा सबैको खेतमा पानी पुर्याउन एउटा ठूलो खाल बनाइएको हुन्थ्यो। त्यहीँबाट पालैपालो पानी लगाइन्थ्यो। एउटा खेतमा पानी पुर्याउँदा अर्कोको पालो कुर्नुपर्थ्यो। पानीको पालो आयो भनेर भोलिका लागि हली, बाउसे र रोप्नेरीको व्यवस्था गरिसकिएको हुन्थ्यो। बेलुकी पानी लगाएर घर फर्कियो भने राति कसैले पानी आफ्नो खेतमा मोडिसकेको हुने। बिहान खेत पुग्दा खेत सुख्खा। त्यसपछि बोलाएका मानिस फर्काउनुपर्थ्यो। उनीहरू पनि रिसाउँथे। अर्को दिन बोलाउँदा उनीहरू अर्को गाउँमा पक्का भइसकेका हुन्थे। यसै कारण कहिलेकाहीँ छिमेकीबीच मनमुटाव र झगडासमेत हुन्थ्यो।
बिहानैदेखि खेतमा बस्नुपर्ने भएकाले बिहानको खाना र दिउँसोको खाजा पनि खेतमै पाक्थ्यो। जसको रोपाइँ हुन्थ्यो, उसले चामल, दाल, तरकारी र आवश्यक भान्साका सामग्री खेतमै बोकेर ल्याएको हुन्थ्यो। दिनभरि हिलोमा काम गर्ने भएकाले सबैले मिठो गरी खान्थे। खाली पेटले खेतमा काम चल्दैनथ्यो।
धेरै खेती भएका वा गाउँका सम्पन्न परिवारले त झन् रोपाइँलाई उत्सवकै रूपमा मनाउँथे। धानको बेर्ना पूजा गरेर सबैलाई टीका लगाइन्थ्यो। पञ्चेबाजाको धुनले वरिपरिका गाउँ नै गुञ्जिन्थे। विभिन्न परिकार बनाइन्थ्यो। कतिपय खेतमा डमाहा पनि बजाइन्थ्यो। त्यस्तो रोपाइँ हेर्न गाउँका मानिसहरू रमाइलो मान्दै भेला हुन्थे।
रोपाइँलाई अझ रमाइलो बनाउन असारे भाका गुञ्जिन्थे। ती गीतमा घरव्यवहारका दुःखदेखि मायाप्रेमसम्मका कुरा मिसिएका हुन्थे।
“रोप रोप रोप्नेरियौ,
बाउसेले साइसके …”
यस्ता असारे भाकासँगै हिलो छ्यापाछ्याप गर्दै खेत नै रमाइलोले गुञ्जिन्थ्यो। दिनभरिको मेलो सकेपछि घरका गाईवस्तुको पनि स्याहार गर्नुपर्थ्यो। चारैतिर हरियाली भएकाले घाँसको दुःख भने हुँदैनथ्यो। नाम्लो डोको बोकेर, हातमा हँसिया लिएर भिरपाखा र खेतका कान्लातिर घाँस काट्न पुगिन्थ्यो।
धान रोपेको केही दिनमै टन्न झार उम्रिन्थ्यो। धान र सामा छुट्याउनै गाह्रो हुन्थ्यो। छत्रे झारले धानलाई नै छेकिदिन्थ्यो। सुइरे झारले पनि निकै सताउँथ्यो। त्यसपछि गोडमेल गर्ने, मल हाल्ने काम सुरु हुन्थ्यो। धान बढ्दै गर्दा मकैबारीमा मास रोप्ने चटारो पनि सुरु हुन्थ्यो। मकैका बोट जोगाउँदै कोदो रोप्नुपर्थ्यो। गोडमेल गर्न झन् गाह्रो हुन्थ्यो।
बिहानदेखि खेतमा बिताएर साँझ घाँसको भारी घरमा बिसाएपछि मात्र दिनको ड्युटी सकिन्थ्यो। वर्षभरि खाने अन्न उब्जाउने जिम्मेवारी थियो। तर भविष्य बिगार्न पनि त भएन। त्यसैले खाना खाइसकेपछि टुकीको मधुरो उज्यालोमा एक–दुई घण्टा किताब पल्टाइन्थ्यो। भोलिपल्ट फेरि बिहान सबेरै उठेर त्यही दैनिकी दोहोरिन्थ्यो। यसरी बित्थे असार र साउनका लामा दिनहरू।
भदौ १ गते विद्यालय खुल्थ्यो जाने चाही जामाका जात्रु पछी जान्थेम। खेतीपातीको चटारो सकिएको कहाँ हुन्थ्यो र ? मकै पाकेर भित्र्याउने बेला भइसकेको हुन्थ्यो। कोही मकै भाँच्ने, कोही डोकामा हालेर ओसार्ने, घाम लाग्दा फिँजाउने। पछि झुत्ता पारेर झुन्ड्याइन्थ्यो र आवश्यक परेका बेला निकालेर पिस्न लगिन्थ्यो।
यसरी असार, साउन मात्र होइन, भदौ पनि खेतीपातीकै कामले भरिएको हुन्थ्यो। पढाइको चिन्ता पनि उत्तिकै अहिले मनसुन भित्रिएर रोपाइँ सुरु भएको समाचार सुन्दा ती दिनहरू चलचित्रझैँ आँखाअगाडि आउँछन्। फेरि एकपटक बिउका मुठा बोकेर खेतमा ओर्लिन पाए हुन्थ्यो जस्तो लाग्छ। ती असारे भाकाहरू अझै कानमा गुञ्जिरहेझैँ लाग्छ।
वर्षौंसम्म सँगै खेतमा रोपाइँ गरेका धेरै छिमेकी हजुरआमा, आमा, काका–काकी, फुपूहरू र जामा तान्ति सुनदेवी हुमकु तिरका आफन्तहरू कहिल्यै नथाकी हाँस्दै–रमाउँदै खेत जोत्ने ती बाउसेहरू, हिलोमा गीत गाउँदै धान रोप्ने दिदीबहिनीहरू आमा आमाहरु आज कहाँ होलान् ? कहिलेकाहीँ सम्झँदा मन भक्कानिन्छ। समयसँगै धेरै कुरा फेरिए, गाउँ फेरियो, जीवन फेरियो, तर असारका ती सम्झनाहरू भने आज पनि मनको कुनामा हरियाली भएर बाँचेका छन् ।

